विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

कहिरन समाचार

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै आन्दोलन स्थगित गरिएको विद्यालय कर्मचारी परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले जानकारी दिए । उनले वार्ताको प्रक्रिया अवधि भरका लागि सबैखाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

आजै परिषद्ले सरकारसँग वार्ता गर्नको लागि आठ सदस्यीय समिति गठन गरेको थियो । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेसँगै परिषद्ले वार्ताका लागि समिति गठन गरेको हो । अब शिक्षा मन्त्रालयले  वार्ता कमिटी बनाएपछि औपचारिक छलफल प्रारम्भ हुने बताइएको छ।

गत १ भदौबाट आन्दोलन गर्दै आएका विद्यालयका कार्यालय सहयोगी र लेखापालहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएका थिए । परिषद्ले पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएको छ ।

परिषद्को निर्णयसँगै बन्द रहेका सबै सामुदायिक विद्यालय खुला हुनेछन्  ।