आइतबार तनहुँ-१ उपनिर्वाचनमा पृथ्वी राजमार्ग बन्द हुने

आइतबार तनहुँ-१ उपनिर्वाचनमा पृथ्वी राजमार्ग बन्द हुने

कहिरन समाचार

तनहुँ । आइतवार हुने तनहुँ-१ को उपनिर्वाचनमा पृथ्वी राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना जारी गर्दै मतदानका दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्री सडकखण्डमा सवारी साधन पुर्णरुपमा बन्द रहने बताएको छ ।

पृथ्वी राजमार्गको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट (मादी नदीको पुलको पश्चिम भाग) सम्म, डुम्रे–बेंसीसहर सडकखण्ड, आँबुखैरेनी गोरखा सडकखण्ड, दमौली दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडक बन्द रहने छन् ।

‘दमकल, एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दूध बोक्ने सवारी साधन, शवबाहन, फोहरमैला ओसार्ने सवारी साधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेको सवारी साधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रूपमा बन्द रहने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।

यस्तै, तनहुँ जिल्ला भएर चल्ने रात्रि बस वैशाख १० गते बिहान ४ बजेअगावै जिल्लापार गरिसक्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।