पहिराले बागलुङ–बेनी सडक अवरुद्ध

पहिराले बागलुङ–बेनी सडक अवरुद्ध

कहिरन समाचार

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए। बेनी–मालढुंगा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारीलाई बागलुङ भएर सञ्चालन गरिएको थियो।

हाँडेभिरमा गत साउन १६ गतेदेखि पहिरो खस्न थालेको थियो। बुधबार पहिरो खसेर सडकमा हिँडिरहेका दुई महिलालाई चोट लागेर घाइते भएका थिए। पहिराले गुडिरहेका सवारीसाधन, इन्टरनेट र बिजुलीको तारलाई पनि क्षति पुर्‍याएको छ।

यसअघि खसेको पहिरो तत्कालै डोजर परिचालन गरेर हटाउने गरिए पनि शुक्रबार ठूलो ढिस्को खसेर सडकमा थुप्रिएको छ। हाँडेभिरमा गत हिउँदमा डोजर परिचालन गरेर सडक विस्तार गरिएको थियो। पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत खबरा र हाडेभिर क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र र ढलान भएको छ ।

खोलाले बगाएर बेपत्ता 

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ। राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिए। म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि राई नभेटिएको जनाइएको छ।