अमेरिका पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

कहिरन समाचार

काठमाडौँ । अमेरिका, पोर्चुगल लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्का र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ पाखरटोल स्थायी घर भई हाल नयाँ बानेश्वर बस्ने वर्ष २३ को टिकाबहादुर भण्डारी रहेका छन् ।

प्रहरीका अनुसार खड्काले सुनिला गुरुङ समेत २० जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाइदिने भन्दै प्रलोभनमा पारी ठगी पोका थिए ।

पीडितहरुबाट पटकपटक गरी जम्मा ३ करोड ५६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको भनी वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले खड्काको खोजतलास गर्ने क्रममा मंगलबार राति २ बजे रौतहटको चन्द्रपुर नगरपालिका–४ चपुरबाट पक्राउ गरेको हो ।

यस्तै, पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने टिका बहादुर भण्डारीले १० जनाबाट पटकपटक गरी जम्मा १५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनलाई ताहाचालबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, पठाइएको प्रहरीले जनाएको छ ।