तीन वर्षपछि घोडेपानीमा चिनिया पर्यटकको घुइँचो

तीन वर्षपछि घोडेपानीमा चिनिया पर्यटकको घुइँचो

कहिरन समाचार

म्याग्दी । पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा तीन वर्षपछि पहिलोपटक चिनिया पर्यटकको घुइँचो लागेको छ ।

यतिवेला घोडेपानी र पुनहिल चिनिया पर्यटकले खचाखच भरिएको छ । २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटकको आगमन तीन वर्षपछि सुरु भएको हो ।

नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुंगा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताइन् ।

पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्वबले स्वागत गरे । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् ।

घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्किने नेपाल बिग माउन्टेन ट्राभल्सका पथप्रदर्शक सुजित रेग्मीले बताए । उनका अनुसार यो पदमार्गमा थप तीन वटा चिनिया पर्यटकको समूह भ्रमणमा आउँदैछन् ।

सात दिनको नेपाल भ्रमणमा आएका उनीहरूले सोमबार बिहान समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जंगल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन् ।

घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो एक महिनायता प्रतिदिन ५०० को हाराहारीमा पर्यटक भित्रिएका व्यवसायी बताउँछन् ।

घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित ५६ लाख ६० हजार रुपैयाँमा ठेक्का लिएका छन् । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति १५० रुपैयाँ शुल्क तोकिएको छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विषेशता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जंगल छ । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जंगल र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब ३०० विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताए । भारतीय र नेपाली पर्यटकको अभिलेख भने राख्ने गरिएको छैन ।