वडासचिवसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

वडासचिवसहित दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

कहिरन समाचार

जाजरकोटको छेडागाड नगरपालिका-१२ वडा कार्यालयका तत्कालीन वडा सचिव र प्रशासन सहायकविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

तत्कालीन वडासचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीविरूद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ।

वडा-१२ मा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरी परेको थियो।

उक्त उजुरीमाथि अनुसन्धान हुँदा वडासचिव जैसीले आर्थिक वर्ष २०७५/०७६को प्रथम, दोस्रो र तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भ्रष्टाचार गरेको खुलेको प्रवक्ता दाहालले बताए।

जैसीले लाभग्राहीहरूको नक्कली विवरण खडा गरी दुई लाख ७३ हजार ४ सय सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको हो।

त्यस्तै प्रशासन सहायक कार्कीले पनि जैसीलाई सहयोग गरी आफूले पनि लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

यसो हुँदा उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको हो। अख्तियारले बिगो रकम कायम गरी कैद र जरिवाना समेत माग गरेको छ।