चिकित्सा शिक्षा आयोगले गर्यो एमबीबीएसको कोटा निर्धारण

चिकित्सा शिक्षा आयोगले गर्यो एमबीबीएसको कोटा निर्धारण

कहिरन समाचार

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका विभिन्न कार्यक्रमको विद्यार्थी भर्ना संख्या निर्धारण गरेको छ । आयोगले सबै विषयमा गरेर ७ हजार ६५९ विद्यार्थी भर्ना गर्ने संख्या निर्धारण गरेको आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले जानकारी दिए ।

मेडिकल कलेजहरूले नयाँ शैक्षिक सत्रको एमबिबिएसका लागि १ हजार ८९५, बिएनएसमा १ हजार ३१०, बिडिएसतर्फ ५६०, बिएएमएसमा ८०, बिपिएचमा ८४०, बि फार्मामा ८१५ विद्यार्थी भर्ना गर्न पाउने गरी सिट संख्या तोकेको हो । गत वर्षहरूभन्दा यस वर्ष बिपिएचमा विद्यार्थी भर्ना संख्या घटाएको उपाध्यक्ष गिरीले बताए ।

२१ वटा मेडिकल कलेजमध्ये १७ वटा मेडिकल कलेजले १०० सिट पाएका छन् । २ वटा मेडिकल कलेज देवदह र जानकी मेडिकल कलेजले ५०/५० सिटमा मात्रै एमबिबिएस अध्यापन गर्ने अनुमति पाएका छन् । कर्णालीले यसपटक ३० जना एमबिबिएस डाक्टर उत्पादन गरेर पठाउने जिम्मेवारी पाएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० सिट पाएको छ ।

बिडिएसतर्फ विपी प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, केयू स्कुल अफ मेडिकल साइन्सेज, युनिभर्सल मेडिकल कलेज र दुईवटा डेन्टल कलेज कान्तिपुर डेन्टल कलेज र पिपुल्स डेन्टल कलेजले ५०/५० सिट पाएका छन् । बिडिएसतर्फ नै चितवन मेडिकल कलेज, कलेफ अफ मेडिकल साइन्सेज, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेजले ४०/४० सिट हात पारेका छन् ।

यस्तै बिडिएसमा महाराजगन्ज मेडिकल क्याम्पस र गण्डकी मेडिकल कलेज २५/२५ सिट पाएका छन् भने नेशनल मेडिकल कलेजले २० सिट र नोबेल मेडिकल कलेजले ३० सिट पाएका छन् ।