मिटरब्याजी श्याम परदेशीलाई धरौटीमा छोड्न आदेश

मिटरब्याजी श्याम परदेशीलाई धरौटीमा छोड्न आदेश

कहिरन समाचार

काठमाडौँ । मिटरब्याजमा ऋण दिएर मानिसहरूलाई ठगी गर्दै आएको र त्यसैबाट अनधिकृत सम्पत्ति थुपारेको मुद्दा लागेका सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण शाहलाई विशेष अदालतले धरौटी छोड्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले परदेशीलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको विशेषका सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए । त्यसपछि अदाललते थुनछेक आदेश सुनाएको हो ।

विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ र उनकी श्रीमती मञ्जु देवीविरुद्ध ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

यो मुद्दामा धरौटीमा छुटे पनि अर्को मुद्दामा उनी रौतहट कारागारमा थुनामा रहेकाले त्यहीँ पठाइएको विशेषका सूचना अधिकारी भट्टराईले जानकारी दिए ।