कांग्रेस चुनावअघिको गठबन्धन ब्युँताउन ‘भूमिगत’ छलफलमा

कांग्रेस चुनावअघिको गठबन्धन ब्युँताउन ‘भूमिगत’ छलफलमा

कहिरन समाचार

नेपाली कांग्रेस आम चुनावअघिको गठबन्धन ब्यूँत्याउन ‘भूमिगत’ छलफलमा रहेको खुलेको छ । कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहमा नेताबीच भूमिगत शैलीमा छलफल भइरहेको पाइएको हो ।

पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने परिस्थिति खडा गर्न खटेका नेताहरुबीच पूर्ववत् गठबन्धन ब्यूत्याउन घनिभूत छलफल चलिरहेको छ । तर छलफलको स्थान र समय गोप्य राखेर भूमिगत शैलीमा छलफल भइरहेको छ ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, रमेश लेखक लगायतका माओवादी नेताहरूसँग नियमित संवादमा छन् । यता माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत संवाद छन् । कांग्रेसले पार्टीका सबै गतिविधि रोकेर माओवादीको विश्वास जितेर सत्ताको बाटो तय गर्ने नीति लिएको छ ।

राष्ट्रपति निर्वाचनको वातावरण र माओवादीसँग विश्वास कायम राख्नकै लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत स्थगित गरेका छन् ।

अब केन्द्रीय कार्यसमिति बैठक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनअघि नहुने भएको छ । पार्टीभित्रकै शेखर कोइराला समूहको बैठकसमेत देउवाकै आग्रहमा स्थगित भएको छ । पुस १० मा पहिलो चरण प्रचण्डलाई प्रधानमन्त्री नछाडेकोमा देउवाले आत्मालोचना समेत गरेको कांग्रेस नेताहरू बत्ताउँछन् ।

२६ पुसमा विश्वासको मत माग्न प्रचण्ड धुम्बाराही पुगेका बेला देउवाले पाँच दलीय गठबन्धन भत्किनुमा आफ्नो कमजोरी भएको स्वीकार गरेका थिए । प्रचण्डसँगको छलफलमा देउवाले ‘गठबन्धन भत्किनुमा तपाईंको कुनै दोष छैन, यसमा मेरै कमजोरी हो,’ भनेका थिए ।

कांग्रेसका अधिकांश नेताको मनोविज्ञान पनि प्रचण्डलाई पहिलोपल्ट प्रधानमन्त्री दिने भन्ने थियो । पहिलो चरण माओवादीले सरकारको नेतृत्व पाउँदा कांग्रेसले राष्ट्रपति, सभामुख, चार प्रदेशका मुख्यमन्त्री र सङ्घीय सरकारका प्रभावशाली मन्त्रालय पाउने हिसाब भइरहेको थियो । देउवाले प्रधानमन्त्रीमा दाबी नछाडेपछि प्रचण्ड सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बने ।

एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नाउपा र स्वतन्त्र गरी १६९ जनाको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । चुनाअघिको गठबन्धन विर्सजन गरेर हिँडेका प्रचण्डलाई कांग्रेसले पुस २६ मा विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा अविश्वासको बीजारोपण भयो  ।

अहिले सत्ता गठबन्धनमा खटपट पैदा गएको छ । एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई आफू अनुकूल चल्न दबाब दिएपछि माओवादीले कांग्रेससँगको संवाद अगाडि बढाएको देखिन्छ । देउवाले पहिलो चरण प्रधानमन्त्रीको दाबी नछाड्नु आफ्नो कमजोरी भयो भनेर आत्मालोचना गरेपछि प्रचण्डको पनि मन फेरिएको माओवादीका नेताहरू बताउँछन् ।

माओवादीका एक नेताले भने, ‘गठबन्धन भत्किनुमा मेरो कमजोरी भयो भनेर आत्मालोचना गर्नुभयो । तर केपी ओलीजी संसद् विघटन अहिले पनि सही भन्दै आउनु भएको छ । उहाँ सत्ता गठबन्धनमा मतभेद पैदा हुने गरी प्रस्तुत भइरहनु भएको छ । यसले असहज परिस्थिति सिर्जना भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि ओलीको अभिव्यक्तिले वातावरण असहज बन्दै गएको बताए । ‘केपी ओलीले संसदमा संसद् विघटन सही थियो भनेर बोल्दा वातावरण असहज बनेको थियो । फेरि सार्वजनिक रूपमा रवि लामिछानेजीको विषयमा बोलिदिनु भयो,’ उनी भन्छन् ।

प्रधानमन्त्रीसँग संवाद भइरहेको विषय सार्वजनिक रूपमा बाेलेकोमा गजुरेललाई निको लागेको छैन । ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकले प्रधानमन्त्रीसँग संवादमै रहेका बेला त्यसरी बोलीदिँदा वातावरण थप असहज बनेको छ,’ उनले भने ।

ओलीले रास्वपालाई गृहमन्त्री दिन दबाब दिएकोमा प्रचण्डको असन्तुष्टि देखिन्छ ।अहिले कांग्रेस र माओवादीका नेताहरू सबै परिस्थिति केलाउँदै सघन छलफलमा जुटेको स्रोतले रातोपाटीलाई बतायो । स्रोतका अनुसार माओवादी वर्तमान सत्ता गठबन्धन अगाडि बढाउन नसकिने निष्कर्षमा पुगिसकेको छ । तर आज–भोलि नै सत्ता गठबन्धन भत्किहाल्ने अवस्था भने नरहेको छलफलमा रहेका नेताहरू बताउँछन् ।

स्रोतले भन्याे, ‘छलफल हुँदैमा आज–भोलि नै सत्ता समीकरण फेरिन्छ भन्ने होइन । चुनावअगाडिको गठबन्धन ब्युँत्याउने आधार निर्माणको काम भइरहेको छ । विश्वासको जग बलियो बन्दै गए सबै हुन्छ ।’

राष्ट्रपतिको निर्वाचनलाई निर्वाचनअघिको गठबन्धन ब्युँत्याउने ‘टर्निङ प्वाइन्ट’ बनाउने ध्येयका साथ छलफल भइरहेको स्रोतको दाबी छ । फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति प्रयासले एमालेसँगको दुरी बढ्ने नेताहरूको बुझाइ छ ।

कांग्रेस नेता रमेश लेखकले माओवादीसँग छलफलमा रहेको स्वीकार गरे । उनले भने, ‘छलफल भइरहेको छ । तर अहिले पुस २६ को अवस्थाभन्दा अगाडि बढेको छैन । रविजीले के निर्णय गर्नुहुन्छ । राप्रपा कसरी प्रस्तुत हुन्छ । हामीले हेरिरहेका छौँ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘मुलुकको परिस्थिति असहज छ ।सत्ता साझेदार दलहरूबीच जुहारी चलिरहेको छ । हामी सबै परिस्थिति नजिकबाट नियालिरहेका छौँ । देशलाई निकास दिन कांग्रेसको भूमिका आवश्यक छ ।’

पौडेलका अनुसार चुनावअगाडिको गठबन्धनबीच निकटता र एकता कायम गरेर निकास निकाल्न कांग्रेसको ध्यान केन्द्रित छ ।एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसापका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल भइरहेको उनको भनाइ छ ।

‘हामी सबैसँग छलफलमा छौँ ।प्रचण्डलाई एमालेसँगको गठबन्धनबाट टुटाएर आफूतिर ल्याउन कांग्रेसले जोड गरिरहेको छ,’ पौडेलले भने । कांग्रेसले शनिबार दिउँसो विपक्षी मोर्चाको बैठक बोलाएको छ । चुनावअघिको गठबन्धन ब्युँताउने विषयमा पनि विपक्षी मोर्चापछि औपचारिक छलफल हुने बुझिएको छ ।कांग्रेसका साथै एकीकृत समाजवादीका नेताहरूले पनि माओवादीका नेताहरूसँग संवाद अगाडि पढाएको अवस्था छ ।

बिहीबार एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले प्रधानमन्त्री प्रचण्डसँग माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामै पुगेर संवाद गरेका थिए । यस्तै शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । अध्यक्ष नेपालले प्रचण्डलाई चुनावअघिको गठबन्धन ब्युँताउन सुझाव दिँदै आएका छन् ।

समाजवादीको कार्यालय आलोकनगरमा भएको भेटवार्तामा पार्टी एकताका साथै सरकारका विषयमा छलफल भएको बताइएको छ । गृह र राष्ट्रपतिको विषयले कोर्स करेक्सन हुन सक्ने माओवादीले सङ्केत दिएको कांग्रेसका एक नेताले बताए ।