पक्राउ परेका सांसद अरुणकुमार चौधरी जेल चलान

पक्राउ परेका सांसद अरुणकुमार चौधरी जेल चलान

कहिरन समाचार

१३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् ।बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् ।

२०६६ सालमा  ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो । फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।