माधव नेपालको सरकारमा सहभागी हुने संकेत

माधव नेपालको सरकारमा सहभागी हुने संकेत

कहिरन समाचार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने संकेत दिएका छन् ।गैरभौगोलिक कमिटीका नेताहरुलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने संकेत दिएका हुन् ।

‘अध्यक्ष कमरेडको संकेत सरकारमा सहभागी हुनुपर्छ भन्ने नै देखिन्छ, त्यसबारे सुझाव लिइरहनुभएको छ’, भर्चुअल बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार, अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि विकसित घटनाक्रमबारे जानकारी दिएका थिए ।

ब्रिफिङकै क्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजाने भन्ने सुझावसमेत माग गरेका थिए । ‘धेरैको सुझाव सरकारमा जानुपर्छ भन्ने नै छ, केहीले भने पार्टी निर्माणमा लाग्नुपर्छ भनेका छन्’, ती नेता भन्छन् । सरकारमा गएर जनतासँग जोडिने मन्त्रालय लिएमा पार्टी निर्माणमा सहयोग पुग्ने सुझाव अध्यक्ष नेपाललाई दिइएको ती नेताले बताए ।

‘प्रतिपक्षमा बसेर जनताको काम गर्न सकिँदैन, बरु राम्रो मन्त्रालय लिएर सरकारमा जानु नै उचित हुन्छ भन्ने धेरैको मत छ’, भर्चुअल बैठकमा सहभागी अर्का नेताले भने । तर नेकपा एमालेसँग तत्काल एकतामा जान हतार हुने सुझाव धेरैले दिएका छन् ।

अध्यक्ष नेपालले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै कुरा भए पनि पार्टी एकतासम्मको कुरा नभएको ब्रिफिङ गरेका थिए । ‘एकताको औपचारिक प्रस्ताव आएको छैन, अनौपचारिक कुराकानीलाई आधार मानेर बोल्नुहुन्न’, अध्यक्ष नेपालको भनाइ उदधृत गर्दै ती नेताले भने ।

तर प्रधानमन्त्री प्रचण्ड सहित एमाले र माओवादी नेताहरुले सरकारमा सहभागी हुन गरेको प्रस्तावमाथि पार्टीमा छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन् । उनले सोचेरै निर्णय लिन विभिन्न पक्षसँग कुराकानी भइरहेको बताएका छन् ।

ओली, प्रचण्ड, वामदेव गौतमदेखि घनश्याम भूसाल र भीम रावलसँग पनि कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी भइरहेको अध्यक्ष नेपालले बताएका छन् ।