ओलीले देउवालाई लिपुलेक लिम्पियाधुरा वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काए

ओलीले देउवालाई लिपुलेक लिम्पियाधुरा वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काए

कहिरन समाचार

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काएका छन् । मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताए ।

‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनें जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सीमानामा जानु भन्नुभएछ,’ उनले भने, ‘प्रचण्डको संगत गरेपछि बन्दुकको भाषण गर्न थालेछन् । हामी बहुमतको सरकार बनाएर वार्तामार्फत वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ ।’

उनले गठबन्धनको कुनै गन्तव्य नभएको बताए । ‘गठबन्धन दिशाहिन विचारहिन र गन्तव्यहिन छ । यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ,’ उनले भने, ‘गठबन्धनमा को प्रधानमन्त्री बन्ने तछाड मछाड छ ।’   गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको उनले बताए । उनले भने, ‘हामीहरूले यो देशलाई प्रगतिको बाटोमा लगेका थियौँ । गठबन्धनका नाइकेहरूले यो देशलाई दक्षिणपन्थी दिशामा लगे ।’

आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि जित्नुपर्ने र बहुमत ल्याउनुपर्ने उनले बताए । ‘लोकतान्त्रिक मूल्य मान्यताका लागि हामीले बहुमत प्राप्त गर्नुपर्छ । विचार र नीति नभएको गठबन्धनले फरक फरक घोषणापत्र सार्वजनिक गरेका छन् । यो विचारहीन र दिशाहीन छ । यसको कुनै भिजन छैन,’ उनले भने– ‘गन्तव्य नभएकाहरुले फरक फरक घोषणापत्र  बोकेर हिँडेका छन् । सबैले आफैंलाई प्रधानमन्त्री भन्दै जनतासँग झुटो आश्वासन बाँडेका छन् ।’