वर्षमान पुन : निर्वाचनमा गठबन्धनलाई दुई तिहाइ

वर्षमान पुन : निर्वाचनमा गठबन्धनलाई दुई तिहाइ

कहिरन समाचार

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने बताएका छन्।

रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले निर्वाचनपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गरे।

चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘आगामी निर्वाचनबाट गठबन्धनले कम्तिमा दुई तिहाइ बहुमत पाउँछ। यो मेरो दाबी हो। तथ्यहरुले यो देखाएको छ। हामी दुई तिहाइ संघमा जित्दैछौं। प्रदेशमा सातै प्रदेशमा हाम्रो सरकार हुन्छ।’

गठबन्धनले घोषणापत्रमार्फत् शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाई छ। तीनै तहका सरकारका समन्वयमा घोषणापत्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता उनले जनाए।

विगतमा केपी ओली नेतृत्वको सरकारले अवसर पाएर पनि स्थायित्व कायम गर्न नसकेको पुनले आरोप लगाए। अब गठबन्धनले देशका लागि समेत केही न केही नयाँ र असल जगको सुरुवात गर्ने उनले बताए।

अहिलेको गठबन्धनले देशको विकासका लागि साझेदारी गर्ने बताए। गठबन्धन गरेर निर्वाचन लडे पनि पछि राष्ट्र निर्माणका लागि हातेमालो गर्ने सबै नागरिकसँग सहकार्य गर्ने उनले बताए।

‘केपी ओलीजीको नेतृत्व एकल बहुमत पाउँदा पनि खेर गयो। आगामी दिनमा यसो हुनेछैन। हामी आफूमात्र हैन नेपालका सबै राम्रा हात र मस्तिस्कलाई लिएर विकासको काम गर्नेछौं। हामी निर्वाचनपछि राष्ट्र निर्माणको पक्षका जनमतलाई लिएर अघि बढ्छौँ’, पुनले भने, ‘ओलीजीलाई पाँच वर्ष काम गर्न जनताले जनमत दिएका थिए। उहाँ चाहिँ थानकोटतिर हिँड्नुभाछ, त्रिपुरेश्वरतिर भेटिएको भुस्याह कुकुरलाई ढुंगा हान्न बस्नुभाछ। अली पर गयो एउटा बटुवा छ त्योसँग झगडा गर्न बस्नुभाछ। गन्तव्य एकातिर छ गर्ने अर्को छ। हामी जे गन्तव्य हो त्यो गछौँ।’

विपक्षी नेकपा (एमाले) को गठबन्धन प्रतिगामी भएको पुनको भनाई छ। विगतका निरङ्कुस शक्तिलाई एमालेले बोकेको पुनको आरोप छ। गणतन्त्र र लोकतन्त्रका लागि लडेका एमालेका कार्यकर्ता पनि परिवर्तनको पक्षमा उभिनुपर्ने उनको भनाई छ । पार्टी बन्धनबाट बाहिर निस्केर अन्तरआत्मालाई सुन्न उनले एमाले कार्यकर्तालाई आग्रह गरे।