प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए

प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताए

कहिरन समाचार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको  सरकार बन्ने बताएका छन् । काठमाडौंका बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासितको भेटघाटको क्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले  नै नेतृत्व गर्ने बताए ।

सत्ता गठबन्धनबाट काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले मुलुकमा राजनीतिक अस्थिरताका कारण आम नेपालीको जीवन स्तरमा परिवर्तन आउन नसकेको बताए । अबको निर्वाचनले मुलुकलाई राजनैतिक स्थायित्व प्रधान गर्ने भएकाले  यसतर्फ गम्भीरताका साथ सोच्न समेत मतदातालाई सिंहले आग्रह गरे ।

‘अवसर पाउँदा कसले के गरिरहेको छ ?  कुन राजनीति दल के गरिरहेको छ ? कुन नेता के गर्दैछन् ? यी सब को लेखाजोखा गर्नुपर्छ  । यसलाई हेरेर मतदान गर्दा विवेकपूर्ण निर्णय लिनुपर्छ,’ उनले भने ।

राजनीति अस्थिरताकै कारण सुशासन हुन नसकेको भन्दै भ्रष्टाचारले सीमा नाघेको उनको भनाइ छ । प्रशासनिक  निकाय  सिस्टममा नचल्दा भनसुन बिना काम हुन नसक्ने अवस्था बनेको सिंहले बताए ।

नागरिकको चाहाना अनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचारको अन्त्य र विधिको शासन कायम गराउन  कांग्रेसलाई मत दिन उनले आग्रह गरे ।

नेता सिंहले शिक्षा र रोजगारी सुनिश्चितताका लागि आफूले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे  । संकटमा मुलुकलाई निकास र जनताको  विकासको चाहना काँग्रेस मात्रै पुरा गर्न सक्ने उनको दाबी छ ।