ओलीविरुद्ध भिम रावलको आरोप: प्रधानमन्त्री हुँदा आधा समय बालुवाटार र अस्पतालमै बिताए

ओलीविरुद्ध भिम रावलको आरोप: प्रधानमन्त्री हुँदा आधा समय बालुवाटार र अस्पतालमै बिताए

कहिरन समाचार

नेकपा एमालेका नेता भीम रावलले पाँच वर्षमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका गलत कामको फेहरिस्त प्रस्तुत गरेका छन् । आगामी चुनावका लागि टिकट नपाएको विषयमा आफ्नो धारणा राख्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा लिखित वक्तव्य वाचन गर्दै रावलले २०७५ सालयता अध्यक्ष ओलीबाट भएका गलत कामको फेहरिस्त प्रस्तुत गरेका हुन् ।

नेता रावलले अध्यक्ष ओलीले झण्डै दुई तिहाइको प्रधानमन्त्री भएका बेला आधा भण्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताएको टिप्पणी पनि गरे ।

‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा छलफल हुँदा सहभागी नहुने, आफूलाई बोल्न मन लागेका बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुई तिहाइको प्रधनममन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने’ रावलले भने, ‘तर देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसदमा र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ?’

एमालेले नयाँ व्यक्तिलाई अवसर दिने भने पनि उनी निकटका नेताहरुको हकमा यो व्यवस्था लागू नगरेको रावलले बताए । रावलले तत्कालीन नेकपामा छँदा स्थायी कमिटीलाई छलेर प्रधानमन्त्री पदमा प्रचण्डसँग आधा/आधा कार्यकालको गोप्य सम्झौता गरी ओलीले अनुशासन, पद्दति र विधिको उल्लघंन गरेको बताए ।

उनले अब पार्टी नछाड्ने र पार्टीभित्रै रहेर विधि पद्दति र न्यायका निम्ति लड्ने बताएका छन् ।