अध्यक्ष महन्थ ठाकुरकी छोरी समानुपातिकको एक नम्बरमा परेपछि लोसपामा विवाद

अध्यक्ष महन्थ ठाकुरकी छोरी समानुपातिकको एक नम्बरमा परेपछि लोसपामा विवाद

कहिरन समाचार

काठमाडौँ असोज ५–निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद देखिएको छ । शीर्ष नेताको सहमतिबाट बनेको सूचीभन्दा फरक सूची आयोगमा दर्ता भएको भन्दै सो पार्टीका वरिष्ठ नेताहरू राजेन्द्र महतो र शरतसिंह भण्डारीले असन्तुष्टि जनाएका छन् । बानेश्वरमा बसेको शीर्ष नेताहरूको गोप्य बैठकमा उनीहरूले पार्टी अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पाँच शीर्ष नेताको सहमतिमा बनेको सूचीलाई अध्यक्ष ठाकुरले फेरबदल गरेको आरोप उनीहरूको रहेको छ । अध्यक्ष ठाकुरले प्रतिनिधिसभा र प्रदेशसभामा आफ्ना निकटको नाम मात्र हालेर बसेको गुनासो नेता महतो र भण्डारीको रहेको छ । यिनै विषयलाई लिएर उनीहरूको बीचमा भनाभन समेत भएको बताइएको छ ।

अध्यक्ष ठाकुरले आफ्नो छोरी मिनाक्षी ठाकुरको नाम प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सूचीको एक नम्बरमै नाम राखेका छन् । त्यस्तै प्रदेशको समानुपातिक उम्मेदवारको सूचीमा उनले आफ्नो आफन्त अजय झाको नाम एक नम्बरमा राखिएको छ । दुई नम्बरमा केशव झाको नाम राखिएको छ । त्यस्तै रामकुमार मण्डल, रुपा यादव र अञ्जु बैठाको नाम पनि सूचीमा राखेर पठाइएको छ ।