सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरु छलफल

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरु छलफल

कहिरन समाचार

कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् ।

११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।

निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै दलहरूको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छान्नतिर गएको हो । ५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहेरो दावी भएकाले भागबण्डामा सकस पर्दै आएको छ ।

दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउदै आएका छन् ।