सरकारमा एमालेसहितको नयाँ समीकरण, मन्त्रालय नतोकी ३ मन्त्रीको शपथ

सरकारमा एमालेसहितको नयाँ समीकरण, मन्त्रालय नतोकी ३ मन्त्रीको शपथ


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको सत्ता गठबन्धन भत्काएर एमालेसहितको नयाँ समीकरण सुरु गरेका छन् । कांग्रेससँगको गठबन्धनमा देखिएको उतारचढावपछि प्रचण्डले आजै नयाँ गठबन्धन बनाएर सरकार पुनर्गठन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनअनुसार ३ जना मन्त्री नियुक्त गर्नुभएको छ । नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त तीनै जना मन्त्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुको जिम्मेवारी भने तोकिएको छैन । विनाविभागिय मन्त्रीको रुपमा तीन मन्त्रीले शपथ लिएका हुन् ।

नयाँ गठबन्धनमा एमाले, रास्वपा, जसपा सहभागी भएका छन् भने नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेश र जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री पाए मात्रै नयाँ गठबन्धनमा सहभागी हुने सर्त राखेका छन् ।

नयाँ गठबन्धनमा मन्त्रालयको जिम्मेवारी बाँडफाँडमा सहमति बन्न सकेको छैन । गृहमन्त्रीमा रास्वपा र एमाले दुबैले दाबी गर्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय नै नतोकी तीन जनालाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराएको हो ।

यसअघि आज बिहान मात्रै बसेको एमाले सचिवालय बैठकले सत्ताको नयाँ समीकरणमा सहभागी हुने निर्णय गरेको थियो । हिजो साँझ अबेरसम्म बसेको प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसहितको बैठकले नयाँ समीकरणको गृहकार्य गर्ने निर्णय गरेको थियो ।