लोसपा त्यागेर निषेधित क्षेत्र तोड्न पुगेका राजेन्द्र महतो घाइते

लोसपा त्यागेर निषेधित क्षेत्र तोड्न पुगेका राजेन्द्र महतो घाइते


काठमाडौँ । निषेधित क्षेत्र तोड्ने प्रयास प्रहरीले विफल बनाएको छ । डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार, घण्टाघर हुँदै निषेधित क्षेत्र भद्रकालीदेखि अगाडि आइपुग्दा प्रहरीले रोकेको हो ।

आन्दोलनकारीलाई भद्रकालीबाट अगाडि बढ्न नदिए पछि निषेधित क्षेत्र तोड्ने प्रयास असफल भएको प्रदर्शनकारीले बताएका छन् । संसद भवन र सिंहदरवारको पेटीमा नागरिकलाई हिड्नै रोक लगाएको विरोधमा नागरिक अभियन्ताहरुले आज निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए । तर, उनीहरुलाई प्रहरीले भद्रकालीमै रोके पछि निषेधित क्षेत्र तोड्ने प्रयास असफल भएको हो ।

आजको प्रदर्शनमा सहभागी भएका दुई जना घाइते भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा त्यागेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका राजेन्द्र महतोको घुडामा र अर्का एक जना रमण पाण्डेको जिउमा चोट लागेको समान नेपाल संस्थाका प्रवक्ता आरके तामाङले जानकारी दिए ।

घाइते दुबै जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ । त्यसपछि आन्दोलनकारीले केहीबेर भद्रकालीमै बसेर नाराबाजी गरेका थिए । आन्दोलनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सुमन सायमी पनि सहभागी भएका थिए । त्यसक्रममा प्रहरीले केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।