नेपाल भित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको छ : प्रेमकुमार राई

नेपाल भित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको छ : प्रेमकुमार राई


काठमाडौँ । नेपाल भित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको डिलिङ विदेशमा हुने गरेकाले सूचना पाउन समस्या परेको बताएका हुन् ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा अख्तियार प्रमुख आयुक्त प्रेमबहादुर राईले बहालवाला मन्त्री र पूर्वमन्त्री जोडिएका भ्रष्टाचार प्रकरणमा छानबिन भइरहेको जानकारी गराएका हुन् ।

प्रमुख राईले बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जोडिएको टेरामक्स प्रकरण, पूर्वमन्त्री स्वर्गिय रविन्द्र अधिकारी जोडिएको वाइडबडि प्रकरण, बर्तमान पर्यटनमन्त्री सुदन किराती संलग्न रहेको आरोप लागेको लुम्बिनीको रामग्राम जग्गा लिज प्रकरण र पूर्वमन्त्री गोकुल बास्कोटाको ७० करोड काण्डमा छानबिन भइरहेको जानकारी गराए ।

राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको र अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै अहिले तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको बताए ।

अख्तियार प्रमुख राईले वाइडबडी खरिद प्रकरण छानबिन अन्तिम चरणमा पुगे पनि अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुईपक्षीय सम्झौता नभइ सूचना दिन नसक्ने जवाफ आएकोले सरकारको सहयोग माग गरेका छन् । राईले सेक्युरिटी प्रेसको ७० करोड टेप प्रकरणको पनि अनुसन्धान भइरहेको भन्दै प्रमाण र आधार नभएसम्म कसैलाई दोषि ठहर गर्न नसकिने बताउनुभएको छ ।

अख्तियारमा प्राप्त उजुरीलाई हेर्दा सार्वजनिक जग्गाको हिनामिना गर्ने प्रवृति बढ्दो रहेको देखिएको भन्दै राईले चमेलिया, रामग्राम जग्गा लिज प्रकरण लगाएतका बिषयमा अध्ययन भइरहेको बताए ।

उनले गतबर्ष २८ हजार उजुरी परेकोमा ६५ प्रतिशत फछयौट भएको र अहिले पनि त्यहि हाराहारीमा पुग्ने गरि उजुरी आइरहेको जानकारी दिए । अख्तियारका प्रमुख आयुक्त राईले अहिले सवै भन्दा बढि भ्रष्टाचार आइटि क्षेत्रमा देखिएकाले सुधारका लागि सरकारलाई १० बुदे सुझाव दिएको उल्लेख गरे ।