देशको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

देशको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।

सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाधार नेपाल–चीन सहकार्यका आधारस्तम्भका रुपमा रहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जा लगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई मात्र बलियो बनाउनाका साथै क्षेत्रीय सहयोग र आपसी एकतामा पनि महत्वपूर्ण टेवा दिएको बताए ।

“दुई मुलुकबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक आदानप्रदान शक्तिशाली माध्यम हुन्”, उनले भने, “साझा सांस्कृतिक सम्पदा तथा सदियौँदेखिका परम्पराले पारस्पारिक समझदारी कायम गर्न बलियो आधार प्रदान गरेको छ ।”

नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक–आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा अनुपम नमुना भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्तिमा आपसी प्रयास आवश्यक रहेकामा उनले जोड दिए ।

चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बिआरआई अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधनका रुपमा उभिएको उल्लेख गर्र्दै उपप्रधानमन्त्री श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको बताए ।

नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध कूटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुसी व्यक्त गरे ।

नेपालका लागि चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार सी युले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, आपसी विश्वास र रणनीतिक साझेदारीमा आधारित रहेको बताए ।

दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक साझेदारी स्थापना गरेको उल्लेख गर्दै उनले चीन–नेपाल मित्रताले नयाँ अध्यायको ढोका खोलेको बताए ।