राष्ट्रिय सभा निर्वाचनको आचार संहिता मंगलबार राति १२ बजेबाट लागू

राष्ट्रिय सभा निर्वाचनको आचार संहिता मंगलबार राति १२ बजेबाट लागू

कहिरन

राष्ट्रिय सभा निर्वाचनको आचार संहिता मंगलबार राति १२ बजेबाट लागू हुँदैछ।

माघ ११ गते हुन लागेको निर्वाचनको आचार संहिताबाट आजबाट लागू हुन लागेको हो।

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार आयोगको अनुमति लिएर मात्रै नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री/स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा जान पाइनेछ। यसरी जाँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न आयोगले निषेध गरेको छ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न पनि आचार संहिताले रोक लगाएको छ।

‘कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनै पनि कर्मचारीसँग वादविवाद गर्न वा उनीहरूलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेको छ,’ आयोगले जारी गरेको आचार संहितामा भनिएको छ।

कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला/प्रचारप्रसार गर्न वा गराउन नपाइने आचार संहितामा उल्लेख छ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न र प्रदर्शन गर्न पनि आचार संहिताले रोक लगाएको छ।

त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने, उनीहरूको चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न पनि आचार संहिताले बन्देज लगाएको छ। निर्वाचन प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्न पनि रोक लगाएको छ।

चुनाव सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुने समेत आचार संहितामा व्यवस्था छ।

निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टा अर्थात २०८० माघ ८ गते रातको १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन। मतदान हुने दिनको अठचालिस घन्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल, तिनका उम्मेदवारको पक्ष/विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्न पनि पाइँदैन।

माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ। जसका लागि ८ दलका ५२ उम्मेदवार मैदानमा छन्।