राष्ट्रपति पौडेलसँग सार्कका नवनियुक्त महासचिवको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग सार्कका नवनियुक्त महासचिवको शिष्टाचार भेट

कहिरन

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शितल निवासमा बुधबार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्येश्यसँगै अहिले देखा परेको जलवायु परिवर्तनका असरका कारण हिन्दकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको बताए।

उनले यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको धारणा राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यस क्षेत्रमा एक दशमलव नौ अर्बभन्दा बढी जनता बसोबास गर्ने भएकाले तीनको जनजीवन सहज तुल्याउन सार्क मुलुकहरुले साझा चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

नेपाल सार्क वडापत्रमा अन्तरनिहित सिद्धान्त एवम् लक्ष्यप्रति सदैव प्रतिवद्ध रहँदै आएको तथा दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवम् सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने उनले विश्वास व्यक्त गरेका छन्।

अवरुद्ध सार्क शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुट्ने आशा पनि राष्ट्रपतिको छ।

सार्क महासचिव सरवारले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यहरुबीच एक आपसमा सहयोग आदानाप्रदानका लागि सचिवालय क्रियाशील रहने बताएका थिए।