राष्ट्रियसभाका सिट गठबन्धनका दलहरूबीचमै बाँडफाँड हुने

राष्ट्रियसभाका सिट गठबन्धनका दलहरूबीचमै बाँडफाँड हुने


काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन बीचमै सिट बाँडफाँड हुने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो ।

गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस नेता रमेश लेखकले अब सबै सिटमा सत्तारुढ चार दलको बैठकले गठबन्धनभित्रै सिट बाँडफाँड गर्ने तय गरेको बताए ।

‘राष्ट्रिय सभा निर्वाचनमा बृहत् राजनीतिक सहमति गर्न सकिन्छ कि भन्ने प्रयास गरिएको थियो, एमालेले १९ सिटमै उम्मेदवार उठाउने निर्णय गरेपछि अब गठबन्धनले सबै सिटमा उम्मेदवारी दिने तय भएको छ’, लेखकले भने ।

गठबन्धनमा सहभागी दलका नेताहरूले नेकपा (एमाले)लाई पनि राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँडका लागि छलफल गरेका थिए । संक्रमणकाली न्याय प्रक्रिया टुंग्याउने विषयमा सहमति भएमा एमालेसँगै मिलेर राष्ट्रिय सभा चुनावमा उम्मेदवारी दिने गरी छलफल अघि बढेको थियो । अब भने त्यो ‘च्याप्टर’ बन्द भएको लेखकले बताए ।

गठबन्धनमा रहेका दलहरूबीच नै सिट बाँडफाँड हुने भएको छ । त्यसका लागि आजै साँझ बैठक बस्ने नेता लेखकले बताए ।