कांग्रेस र माओवादीका नेताहरूबीच राष्ट्रिय सभा सिट बाँडफाँटबारे छलफल

कांग्रेस र माओवादीका नेताहरूबीच राष्ट्रिय सभा सिट बाँडफाँटबारे छलफल

कहिरन

बालुवाटारमा नेपाली कांग्रेसका र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको छ।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा मंगलबार बिहान दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।

छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

साथै माओवादीका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए।

उनीहरूले कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल गरेका छन्।

‘आज कुन प्रदेशमा को अगाडि छ भन्नेबारे मतभार हेर्ने

काम भयो,’ छलफलमा सहभागी कांग्रेसका एक नेताले भने, ‘यसअघि कुन प्रदेशमा कुन दलले लिएको भन्नेबारे पनि हेरियो। अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुन्छ।’

कांग्रेसको पुस १२ देखि पुस १४ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनसँग तालमेल गरी राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको थियो। सरकारबाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीतसहित २० सदस्य रिक्त हुने भएपछि माघ ११ गते चुनाव तोकिएको छ।

उम्मेदवारको मनोनयन भने पुस २३ गते गर्ने तालिका छ। कांग्रेसभित्र मतभार आफूहरूको धेरै भएको भन्दै कम्तीमा १० सिट लिनुपर्ने माग छ।