पार्टी कार्यालयका लागि एमाले गण्डकीले १० करोडमा घर खरिद् गर्ने

पार्टी कार्यालयका लागि एमाले गण्डकीले १० करोडमा घर खरिद् गर्ने

कहिरन

नेकपा (एमाले) गण्डकीले प्रदेश कमिटीले पार्टी कार्यालय प्रयोजनका लागि १० करोडमा घर खरिद् गर्ने भएको छ।

प्रदेश कमिटीको शुक्रबार बसेको बैठकले १० करोडमा घर खरिद् गर्न १५ लाख बैना दिइसकेको सचिव धनन्जय दवाडीले जानकारी दिए।

‘प्रदेश कमिटीले यसअघि नै सदस्यहरूबाट लेबी उठाएर पार्टी कार्यालय बनाउने निर्णय गरेको थियो,’ उनले भने, ‘अस्ति बसेको बैठकले १० करोडमा घर खरिद् गर्ने निर्णय गरेको हो। पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायत नेताहरू भएर घर हेरेका थियौं। प्रदेश कमिटीले त्यसलाई अन्तिम रूप दिएको हो।’

उनले पोखरा महानगरपालिका–८ सिर्जनाचोकभन्दा केही माथि घर खरिद् गर्न लागेको बताए। घरधनी पर्यटनसँग सम्बन्धित व्यवसायी रहेको पनि उनले बताए।

गण्डकीमा ६३ हजार ५४७ जना पार्टी सदस्य छन्। उनीहरूबाट पाँच–पाँचसय उठाउने निर्णय पनि यसअघि नै भइसकेको दवाडीले बताए।

त्यसबाट ३ करोड १७ लाख ७३ हजार उठ्ने र बाँकी रकम सुभेच्छुकहरूसँग उठाएर पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

‘पार्टी सदस्यलाई न्यूनतम पाँच सय रूपैयाँ दिन भनेका छौं। इच्छुकले त्योभन्दा बढी पनि दिन सक्नुहुन्छ,’ उनले भने।

माघभित्र जनसंगठन, चैतभित्र जिल्ला कमिटीका अधिवेशन सक्न निर्देशन
प्रदेश कमिटीको बैठकले माघभित्र जनसंगठनका अधिवेशन गर्न निर्देशन दिएको उनले बताए। त्यस्तै चैत मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न निर्देशन दिएको पनि सचिव दवाडीले जानकारी दिए।