गठबन्धन पाँचै वर्ष टिक्ने प्रधानमन्त्री दाहालको दाबी

गठबन्धन पाँचै वर्ष टिक्ने प्रधानमन्त्री दाहालको दाबी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ताकुकोटमा भएको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले जसले जति बल गरे पनि गठबन्धन नटुट्ने दाबी गरे ।

‘मंसिरको पहिलो हप्ता त आकाशै खस्छ कि, धर्ती नै भासिन्छ जस्तो गरी एकथरी मान्छेले होहल्ला गरे । जनतालाई पनि के हुन लाग्यो भन्ने पर्‍यो । हामी हेर्छौं कहीँ केही देख्दैनौं । तर होहल्ला भएको भएकै छ ।’

दुर्गा प्रसाईं समूहको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘हामीले बढो धैर्यता र दृढताका साथ त्यसलाई विफल तुल्याइयो । त्यसपछि हुन खोजेका अरू धार्मिक जातीय तथा अतिवादी सोच र प्रवृत्तिलाई पनि आफूहरूले परास्त गरेको दाहालको दाबी छ ।

‘म अहिले गर्वका साथ भन्छु जति षडयन्त्र भइरहेका छन् । हाम्रो गठबन्धन अझ बलियो र सुदृढ हुँदै गएको छ । र यो गठबन्धन पाँचै वर्ष जान्छ ।’ दाहालले भने, एक वर्षमा त यति धेरै काम भयो भने अर्को ४ वर्ष यो गठबन्धन हुँदा हामीले ठूलठूला सफलता प्राप्त गर्न सक्छौँ भन्ने मलाइ विश्वास छ ।’

उनले आफ्नो सरकारले गरेका काम लुकाएर जताततै अँध्यारो मात्रै देखाउने तत्व सक्रिय रहेको जिकिर गरे ।