कांग्रेसका शेखर गुट चलाउन असफल भएको आरोप

कांग्रेसका शेखर गुट चलाउन असफल भएको आरोप


काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतरसमूहको नेतृत्व गरेका शेखर कोइराला समूह चलाउनै असफल भएका छन् । १४ औँ महाधिवेसनमा सभापति शेरबहादुर देउवासँग भिडेका कोइरालाले त्यसपछि आफू पक्षीय समूहलाई नै प्रभावकारी ढङ्गले चलाउन नसकेको आरोप लागेको छ ।

कोशी प्रदेशमा एमालेको समर्थनमा आफूपक्षीय नेतालाई मुख्यमन्त्री बनाउनेदेखि जिल्ला, प्रदेशका पार्टीका नेताहरुको भेला बोलाउनेसम्मका निर्णयमा छलफल नगरेको भन्दै महामन्त्री गगन थापा रुष्ट भएका हुन् । गएको सोमबार उनीँहरुबीच अर्जुननरसिंह केसीको निवासमा तीन घण्टा लामो वानटुवान भेटवार्ता भए पछि आज (बुधबार) यो समूहको बैठक बसेको थियो ।

आजको बैठक पछि महामन्त्री थापाले पार्टीजस्तै आफ्नो समूहमा पनि असमजदारी बनेकाले समस्या सिर्जना भएको प्रतिक्रिया दिएका छन् । नेता शेखर कोइरालातर्फ संकेत गर्दै उनले राजनीतिक, सांगठानिक र पार्टीभित्रको सुधारलाई हेर्ने दृष्टिकोण एउटै भए पनि कार्यशैलीका कारण समस्या देखिएको बताए ।

नेता कोइरालाले भने कांग्रेस पार्टी र देश ठिक नचले पछि आफूहरु लागि परेको तर समूह ठिकठाक रहेको जवाफ दिएका छन् । आफ्नो समूह ठिक छैन भन्ने आरोप मिडियाले लगाएको उनले बताएका हुन् ।

आजको बैठकले राष्ट्रिय सभा सदस्य बन्नका लागि मापदण्ड बनाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी सरकारमा रहेका बेला भ्रष्टाचारको एक पछि अर्को काण्ड आइरहेकाले सुशासन कायम राख्नेबारेमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।