जसपाको पुस २५, २६ मा राजनीतिक र २७ मा केन्द्रीय समितिको बैठक

जसपाको पुस २५, २६ मा राजनीतिक र २७ मा केन्द्रीय समितिको बैठक

कहिरन

जनता समाजवादी पार्टी (जसपा) ले पुस २५, २६ गते पार्टीको राजनीतिक समिति र २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ।

सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने निर्णय गरेको छ।

यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा सातै प्रदेश समितिका इन्चार्ज सदस्य रहने गरी ८ सदस्यीय एक कार्यदल गठन भएको छ ।

त्यस कार्यदलले पार्टीको केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको लागि प्रस्ताव तयार पार्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठकले केन्द्रीय कार्यालय सचिवका रूपमा पेशल ढकाललाई चयन गरेको उनले बताए। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निधारित समयमै दल दर्ता गर्ने निर्णय गरेको पनि उनले बताए।

जसपा नेपालले यसबीच सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्ष समेत निकालेको छ । त्यस्तै, एनसेल खरिद बिक्री प्रक्रिया रोकी उक्त घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न सरकारसमक्ष आग्रह गरेको छ । चुरे उत्खनन् तथा गिट्टी बालुवा निकासी पैठारीसम्बन्धि सरकारले तयार पारेको विधेयक फिर्ता लिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनले बताए।

जसपा नेपालले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढंगले निरन्तरता दिने निर्णय गरेको छ ।