लाभ र प्रभावमा नपर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

लाभ र प्रभावमा नपर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन


मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि र कर्मचारीलाई लाभ र प्रभावमा नपरी कार्य गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीद्वारा आज विराटनगरमा आयोजित भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवससम्बन्धी कार्यक्रम उद्घाटन गर्दै उनले ऐन, नियमावली, कार्यविधिअनुसार काम गरे अख्तियारले दण्डिन होइन पुरस्कृत गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहबीच सुशासन कायम गर्नेतर्फ प्रतिस्पर्धामा लाग्न आग्रह गरे । उनले तोकिएभन्दा कम रकममा टेण्डर सम्झौता गरी काम नगर्नु पनि भ्रष्टाचार भएकाले प्रदेश सरकारले यस कार्यलाई कुनै किसिमको छुट नदिने प्रष्ट पारे ।

त्यस अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अख्तियारबाट स्थानीय तह पीडित भएकाले उजुरी उपर अनुसन्धान छिटो टुङ्ग्याउन सुझाव दिए ।

आयोगका इटहरी प्रमुख सुरेश न्यौपानेले मुलुकमा भ्रष्टाचारको अवस्था र नियन्त्रण विषयक कार्यपत्र प्रस्तुत गर्दै सबैभन्दा वढी स्थानीय तहसम्बन्धी ३५ दशमलव १० प्रतिशत उजुरी आएको जानकारी दिए।