एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन

एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन

कहिरन

एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति बनाएको छ। पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा एनसेल प्रकरण अध्ययन तथा छानबिन समिति गठन भएको हो।

बिहीबार बसेको मन्त्रिरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन्। यो समितिलाई प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ।

यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।

यस्तै बिहीबारको मन्त्रिपरिषद बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ।

आयोगको सदस्यमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय भएको सरकारकी प्रवक्ता शर्माले जानकारी दिइन्।