अशोकराज सिग्देल रथीमा बढुवा

अशोकराज सिग्देल रथीमा बढुवा

कहिरन

सरकारले नेपाली सेनाको रथीमा अशोकराज सिग्देललाई बढुवा गरेसँगै एक वर्षपछि उनी प्रधान सेनापति बन्ने निश्चित भएको छ।

सैनिक मुख्यालय जंगी अड्डाले सिग्देललाई रथीमा बढुवा गर्न गरेको सिफारिस बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसँगै २०८१ भदौमा हालका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल सकिएपछि सिग्देल प्रधान सेनापति बन्नेछन्। सिग्देल २०७६ असोजमा उपरथी भएका थिए।

यसअघि रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले नागरिकतामा कीर्ते गरेको पाइएपछि उनले राजीनामा दिएका थिए। पाण्डेको राजीनामा आएलगत्तै रोलक्रमका आधारमा सैनिक मुख्यालयले सिग्देललाई रथीमा बढुवा गरेको हो।

तर उनको पनि उमेरमा कीर्ते भएको भन्दै गत मंसिर ५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। आयोगले नेपाली सेना आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरी रक्षा मन्त्रालयमा पठाएको थियो।

उनको शैक्षिक प्रमाणपत्र र जन्ममितिबारे आएको उजुरीमाथि २०७६ सालमै छानबिन गरेको रक्षा मन्त्रालयले सिग्देलको शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै जन्ममिति भएको जनाएको छ। आइतबार नेपाली सेनाको जंगी अड्डाले रिक्त रहेको रथी पदको लागि उपरथी सिग्‍देललाई बढुवा गर्न रक्षा मन्त्रालयलाई सिफारिस गरेलगत्तै उनको जन्ममितिबारे विवाद सुरू भएको थियो।

शैक्षिक योग्यता प्रमाणपत्र र क्याम्पसको ढड्डामा फरक-फरक जन्ममिति रहेको भन्दै उनीविरूद्ध उजुरी हालिएको थियो।

यस्तै त्रिभुवन विश्वविद्यालयको अभिलेखमा रहेको २०२१ चैत १९ जन्ममितिलाई सच्याएर २०२३ माघ १९ गते बनाएको आरोप उनीमाथि थियो। उक्त जन्ममिति भने २०७६ साउन ३० गते सच्याएको भन्दै अख्तियारमा बेनामे उजुरी दिइएको थियो। उजुरीमा क्याम्पसको ढड्डामा २०२१ चैत १९ गते भएको उल्लेख गरिएको छ।

तर सोही कलेजले २०४३ साल भदौ १२ गते जारी गरेको एक पत्रमा उनको जन्ममिति २०२३ माघ १९ गते रहेको उल्लेख छ।

यसबारे रक्षा मन्त्रालयका तत्कालीन प्रवक्ता प्रकाश पौडेलले शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै जन्ममिति रहेको कागजातहरू उपलब्ध भएको बताएका थिए। प्रवक्ता पौडेल हालै सरूवा भएका छन‍्।

उनका अनुसार शैक्षिक प्रमाणपत्र र नागरिकतामा पनि २०२३ माघ १९ गते नै छ।

‘रथीमा बढुवा गर्न भनेर नेपाली सेनाले हिजो सिफारिस गरेको छ। सिफारिस गर्दा उहाँका शैक्षिक प्रमाणपत्रलगायत कागजातहरू प्राप्त छन् नागरिकता र शैक्षिक योग्यतामा भएका प्रमाणपत्रमा एउटै जन्ममिति छ। प्राप्त भएका शैक्षिक प्रमाणपत्रमा जन्ममिति २०२३ माघ १९ छ,’ उनले भनेका थिए।

प्रधान सेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिने भएपछि प्रधान सेनापतिको रोलक्रममा सिग्देल आएका हुन्।

२०७६ सालमा पनि उनीविरूद्ध मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। उक्त उजुरीमाथि मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान गरेको थियो।

तर उक्त समितिले ढड्डामा लेख्दा गल्ती भएकाले ढड्डामा भएको मिति सच्याउन भनिएको थियो। त्यसअनुसार उनलाई सफाइ दिएर ढड्डाको मिति सच्याएको मन्त्रालय स्रोतले बतायो।

यसअघि उपरथीबाट रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डेको जन्ममिति विवाद बाहिरिएको थियो। उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरकफरक पाइएको भन्दै मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। पाण्डेमाथि छानबिन हुनेभएपछि उनले कात्तिक २४ गते राजीनामा दिएका थिए।

प्रधान सेनापतिको रोलक्रममा रहेका उनको पनि जन्ममिति २०२१ र २०२३ पाइएको थियो। उनको शैक्षिक प्रमाणपत्रमै जन्ममिति २०२१ माघ १२ गते उल्लेख थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ सालमा जारी भएको नागरिकतामा भने २०२३ मंसिर २३ उल्लेख थियो।