आन्तरिक छलफलमा देउवाले भने– सिट बाँडफाँटमा हामी लचिलो हौँ

आन्तरिक छलफलमा देउवाले भने– सिट बाँडफाँटमा हामी लचिलो हौँ

कहिरन समाचार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जित्ने गरी सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएका छन् ।  शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केही नेताहरू बोलाएर यस्तो निर्देशन दिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रवक्ता महत नेता ज्ञानेन्द्र कार्की लगायत उपस्थित थिए ।

महतका अनुसार भोलि बस्ने गठबन्धन कार्यदलको बैठकमा लचिलो भएर प्रस्तुत हुन देउवाको निर्देशन थियो । देउवाको भनाइ उदृत गर्दै महतले भने, ‘मोटामोटी कति फेग्जिबल हुने भन्ने छ । गठबन्धनको नेतृत्वकर्ता हो  हामी । हामी फेग्जिबल हुनुपर्छ । अरु दललाई पनि फेग्जिबल हुन आग्रह गर्नुपर्छ।’ गठबन्धन तलमाथि नहुनेगरी सिट बाँडफाँटको वर्कआउट गर्न पनि देउवाको निर्देशन थियो । गठबन्धनमा रहेका दल जित्ने ठाउँमा काँग्रेस दाबी नगर्न देउवाले भने ।

‘गठबन्धनले चुनाव जित्ने गरि सिट बाँडफाँट गरौँ । उनीहरू चुनाव जित्ने ठाउँमा हामी दाबी छोडिदिउ । हामीले चुनाव जित्ने ठाउँमा उनीहरूलाई दाबी छोड्न अनुरोध गरौँ’, देउवाको भनाइ थियो ।  गठबन्धनमा काँग्रेसले  १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी प्रस्तुत गरेको छ ।

यसमा सबै दल लचिलो भएर सिट बाँडफाँट टुंग्याउन गठबन्धन कार्यदलमा छलफल भइरहेको छ । काँग्रेसले ८५–९०, माओवादीले ४५–५०, जसपा र लोसपाले १२१५ सिटमा लचिलो हुने सम्भावना रहेको कार्यदलमा रहेका नेताहरू बताउँछन् ।