आयोगले राष्ट्रिय सभा सदस्‍यको निर्वाचनका लागि नयाँ मतभार तोक्यो

आयोगले राष्ट्रिय सभा सदस्‍यको निर्वाचनका लागि नयाँ मतभार तोक्यो

कहिरन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्‍यको निर्वाचनका लागि नयाँ मतभार तोकेको छ।

आयोगले बुधबार प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नयाँ मतभार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बताए।

फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि सकिँदैछ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर कायम गर्ने प्रावधान छ।

हालै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएकाले त्यसबमोजिम मतभार तोकिएको हो।

उक्त प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको हो।

यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो। यस्तै प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो।