नेता विमलेन्द्र निधिले प्रधानमन्त्री ‘प्रचण्ड’लाई चार विषयमा ध्यानाकर्षण

नेता विमलेन्द्र निधिले प्रधानमन्त्री ‘प्रचण्ड’लाई चार विषयमा ध्यानाकर्षण

कहिरन

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चार विषयमा ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेता निधिले प्रदेश सरकारलाई बलियो बनाउने, महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र र राजर्षि विश्वविद्यालय, जनकपुरको विकास र सिमानाकाको विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको निधिको सचिवालयले जनाएको छ।

उनले प्रदेश सरकार मातहत सुरक्षा निकाय राख्नका लागि त्यससम्बन्धी कानुनी प्रकृया पूरा गरेर प्रदेश सरकारलाई बलियो बनाउनु पर्नेमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

त्यस्तै प्रदेशको छुट्टै निजामति कर्मचारी हुनुपर्ने निधिको भनाइ थियो। आवश्यक कानुन बनाएर स्थानीय तहलाई सानातिना कामका लागि सिंहदरबार आउन नपर्ने व्यबस्था मिलाउनु पर्नेमा निधिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

यति काम गर्नासाथ संघीयता बिरोधी शक्तिहरु आफैं कमजोर हुने निधिले बताए।

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफू सकारात्मक भएको बताउँदै प्रहरी ऐन तयार भइसकेको र कार्यान्वयनका बाँकी काम छिट्टै पूरा गर्ने तथा निजामति कर्मचारी सम्बन्धी ऐन बनाउने प्रतिबद्धता जनाएका थिए।

निधिले महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश छिटो ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। त्यस्तै राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि जग्गा प्राप्ति अन्तिम चरणमा रहेकोले त्यस सम्बन्धी निर्णय गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

जबाफमा प्रधानमन्त्री दाहालले ती बिषयमा आफू सकारात्मक रहेको बताएका थिए।

संसद विकास कोषको रकम भूकम्प प्रभाबित जाजरकोट र रुकुमका पीडितका लागि व्यबस्था गर्नु सकारात्मक काम भन्दै निधिले सरकारको प्रशंसा गरेका थिए। यसैगरी नेपाल संवतलाई राष्टिय संवतको मान्यता दिएकोमा सरकारलाई उनले बधाई दिएका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा जनकपुरको विकासका लागि एक सय करोडको प्रतिबद्धता जनाएको स्मरण गराउँदै नेता निधिले सो रकम रामजानकी अन्तर्राष्टिय रंगशालामा लगानी गर्न मधेश प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले समेत सुझाव दिएको बताए।

यस सम्बन्धमा भारतीय दूतावासमा कुरा गर्दा त्याँहाका अधिकारीहरु त्यसका लागि तयार भएको भन्दै उनले सरकारलाई प्रकृया अघि बढाउनका लागि आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री दाहालले सहमति जनाएको निधिले जानकारी दिए।

सोही भेटमा निधिले दशैं अगाडि एकसाता आफूले हुम्लाको लाप्चा र हिल्सा सिमा नाकामा देखिएको समस्याबारे पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।