‘नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्छ’

‘नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघले सहयोग गर्छ’


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आज आयोजित पत्रकार सम्मेलनमा उनले संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्न तयार रहेको बताएका हुन् ।

संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार गुटेरेसको भनाइ थियो ।

गुटरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव डा वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई स्वागत गरे ।

प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । महासचिव गुटेरेसले अहिले केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलसंग भट्दैछन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनले आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने कार्यक्रम छ ।