राष्ट्रसंघका महासचिवको सम्बोधनबारे सभामुखले संसदलाई गराए जानकारी

राष्ट्रसंघका महासचिवको सम्बोधनबारे सभामुखले संसदलाई गराए जानकारी


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले पर्सि १४ गते संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने जानकारी गराएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको अन्त्यमा उनले सरकारबाट प्राप्त पत्र बाचन गरेर महासचिवको सम्बोधनबारे जानकारी गराएका हुन् । साथै उनले उक्त दिन सांसददलाई १५ मिनेट अघि नै तोकिएको पोसाकमा अनिवार्य उपस्थितीका लागि अनुरोध गरेका छन् ।

कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले महासचिव गुटरेसले कार्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेको र कार्तिक १४ गते संसदको दुवै सदनलाई संवोधन गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ ।