राष्ट्र संघका महासचिव गुटेरेस उच्चस्तरीय भेटवार्तामा

राष्ट्र संघका महासचिव गुटेरेस उच्चस्तरीय भेटवार्तामा


काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आजैदेखि उच्चस्तरीय भेटवार्ता शुरु गर्ने भएका छन् । चार दिने औपचारिक भ्रमणमा आएका गुटरेशले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसँग दिउँसो २ बजे भेट गर्ने महासचिव गुटेरेसले राष्ट्रपति पौडेलसँग दिउँसो ४ बजे भेट गर्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा आचार्य रेग्मील जानकारी दिइन् । महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आजै सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन् ।

यस्तै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा भोलि गुटेरेस नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । पर्सि मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका लागी गएराति नेपाल आइपुगेका हुन् ।