कांग्रेसले चियापान कार्यक्रम गर्दै, एमालेको सर्‍यो

कांग्रेसले चियापान कार्यक्रम गर्दै, एमालेको सर्‍यो


काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज दिउँसो चियापान कार्यक्रम गर्दै छ । आज दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

दशैंतिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् ।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका उपलब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । कांग्रेसले बडादशैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी एमालेले भने चियापान कार्यक्रम कात्तिक १५ गतेका लागि सारेको थियो ।