गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङमा

गृहमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङमा

भीम विश्वकर्मा

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरे ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् । आज उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ ।

यस्तै आजै उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । भ्रमणका क्रममा तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुनेछन् ।

उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ । यसैगरी चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका आपत्कालीन व्यवस्थापनमन्त्री वाङ सियाङ्सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।