सबै कम्युनिष्ट पार्टी एक ठाउँमा आउन आवश्यक छ : माधव नेपाल

सबै कम्युनिष्ट पार्टी एक ठाउँमा आउन आवश्यक छ : माधव नेपाल

कहिरन समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नाममा धेरैले पसल थापेर बसेको भन्दै अब सबै कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउन हरेश खान नहुने बताए । मिल्न सक्ने र सहकार्य गर्न सक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने भन्दै उनँले कम्युनिष्ट जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने बताए ।

कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गरे । समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक–दुईवटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने उजको भनाई छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताए ।

पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको आज ४५ औँ स्मृति दिवस, कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । वि.स. १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

जनताका पक्षमा अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।