समाजवादी मोर्चाको बैठक बस्दै, कार्यदलको प्रस्ताव पास गर्ने

समाजवादी मोर्चाको बैठक बस्दै, कार्यदलको प्रस्ताव पास गर्ने

कहिरन समाचार

काठमाडौं । समाजवादी मोर्चाको दोस्रो बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर काठमाडौंमा बस्नेछ । बैठकले मोर्चाको कार्यविधि पास गर्ने एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।

गत शनिबार बसेको मोर्चाको पहिलो बैठकले कार्यविधिसहित आचारसंहिता, भावी नीति तथा कार्यक्रम र सांगठनिक स्वरुप तयार गर्न मोर्चा सदस्य चार दलबाट एक एक जना रहनेगरी कार्यदल गठन गरेको थियो । कार्यदलले सबै प्रस्ताव तयार गरिसकेको र आज शीर्ष नेतासमक्ष पेश गरिने कार्यदलका सदस्यसमेत रहेका हमालले बताए ।

कार्यदलमा नेकपा माओवादी केन्द्रका देव गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रमेश हमाल, जसपाका राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् । पहिलो बैठकबाट सातै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको मोर्चाले आज कहाँ,कहिले कार्यक्रम गर्ने भन्ने मिति तय गर्ने तयारी पनि गरेको छ ।

सत्तारुढ तीन दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा बनेको छ ।