राजनीति सफा नगरी भ्रष्टाचार अन्त्य हुदैन : गृहमन्त्री श्रेष्ठ

राजनीति सफा नगरी भ्रष्टाचार अन्त्य हुदैन : गृहमन्त्री श्रेष्ठ

कहिरन समाचार

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले राजनीतिक क्षेत्रलाई स्वच्छ नबनाइ भ्रष्टाचारको निमूल गर्न नसकिने बताएका छन् ।

शुक्रबार आफ्नो निजि निवास हात्तीवनमा पत्ररकारसंग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो कुनै न कुनै रुपले राजनीतिक नेतृत्वबाट संरक्षित रहेको उल्लेख गर्दै राजनीतिक क्षेत्रलाई स्वच्छ नबनाइ भ्रष्टाचारको निमूल गर्न नसकिने बताएका हुन् ।

“यसका लागि राजनीतिलाई सफा गर्नुपर्छ । किनभने कमिसन र भ्रष्टाचार जालो कुनै न कुनै रुपमा राजनीतिक नेतृत्वबाट संरक्षित छ वा उनीहरुकै संलग्नता छ । त्यसकारण विकास र समृद्धिले फड्को मार्न सकेन”, उनले भने ।

सरकारले अहिले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनमा दृढतापूर्वक कदम चाल्न खोजिएको उल्लेख गर्दै उनले परिवर्तनपछाडि जनताले अपेक्षा गरेका विषय प्राप्त नहुनुको कारणको समाधान गर्न खोजिएको बताए । उनले नक्कली भूटानी शरणार्थी बनाएर राज्यलाई नै अपमानित गर्ने राज्यकै मुख्य ठाउँमा बसेर जुन घटना भयो त्यो लज्जास्पद भएको बताए ।

गम्भीरताका साथ लिएर थप अनुसन्धान गर्न आफूले प्रहरीलाई निर्देशन दिएको उल्लेख गर्दै उनले कुनै व्यक्तिलाई पक्रने कि नपक्रने, कुनै मुद्दामा अगाडि बढ्ने कि नबढ्ने भनेर निर्देशन नपर्खनु भनेको सुनाए । सरकारको ध्यान अब ललितानिवास जग्गा प्रकरणमा केन्द्रित भएको उल्लेख गर्दै उनले प्रहरीले निष्पक्ष ढङ्गबाट अनुसन्धान अगाडि बढाएको बताए ।