सरकार ढल्दैन, जनताको पूर्ण समर्थन छ : मन्त्री रेखा शर्मा

सरकार ढल्दैन, जनताको पूर्ण समर्थन छ : मन्त्री रेखा शर्मा

कहिरन समाचार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् ।

प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले शुक्रबार आयोजना गरेको अन्तक्रिर्यामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारिन् ।

भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको उनको भनाई छ ।

‘सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ’, मन्त्री शर्माले भनिन्, ‘बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन । राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन ।’

संसदमा विपक्षी दलले असान्दर्भिक रूपमा विषयवस्तु उछालेर गतिरोध गरेकोमा आपत्ति प्रकट गर्दै मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याजी पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्त्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाएको बताइन् ।