एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

एमालेको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

कहिरन समाचार

काठमाडौं । नेकपा एमालेको अवरोधले राष्ट्रियसभा बैठक शुक्रबार पनि स्थगित भएको छ । शुक्रबार बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा स्थगित भएको हो ।

बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताइन् ।

उनले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उनलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेको जिकिरसमेत गरिन् । देशकै सम्माननित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको सांसद घिमिरेको दाबी थियो ।

एमाले सांसदहरुले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गरेका थिए । तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेपछि अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरेका हुन् ।