संसदमा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

संसदमा प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

कहिरन समाचार

काठमाडौं । संघीय संसद्‌का दुवै सदनमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् । गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक बिमोचन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरुले राजीनामा माग गरेका हुन् ।

भारतीय नागरिक प्रितम सिंहका विषयमा किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै मेहनत गरेको र दिल्ली समेत धाएको अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको सोही अभिव्यक्तिले प्रधानमन्त्रीको पदमा बसिरहने आधार गुमाएको भन्दै विपक्षी दलहरुले बुधबार संसद अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपा सांसदहरूले बैठक सुरु हुने वित्तिकै विरोध जनाए ।

बैठक चलाउन सभामुख देवराज घिमिरेले समय दिए पछि एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा नदिएसम्म सदन चल्न नदिने चेतावनी दिए । बैठकमा बोल्दै एमाले सांसद पन्तले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपालीको भावनामा आघात पुगेको बताए ।

‘हामीले प्रधानमन्त्री बनाएका थियौं, प्रस्ताव गरेका थियौं । विश्वासको मत लिने वेला अरु दलको लिनुभयो, ठीकै थियो’, पन्तले प्रश्न गरे, ‘नेपालको प्रधानमन्त्री बन्ने नेपाली जनतातिर जाने हो की दिल्ली जाने हो?’

एमाले सांसद पन्तले नैतिकताका आधारमा प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने बताए । ‘नैतिकताका आधारमा उहाँले पदमा बस्न उपयुक्त हुँदैन, राजीनामा गर्नुहोस्’, पन्तले भने, ‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अगाडि बढ्न सक्दैन ।’

प्रतिनिधिसभामा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि साथ दिएको छ । सभामुख घिमिरेले बैठक अगाडि बढाउन खोजेपछि राप्रपाका सांसदहरू रोस्टम घेराउ गर्न पुगेका थिए ।

यसअघि राष्ट्रिय सभामा पनि एमालेका सांसदले प्रधानमन्त्री दाहालको राजीनामा मागेका थिए । उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको थियो । बैठक बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते शुक्रवार अपराह्न ३ बजे बस्नेछ ।