कोशीमा कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय

कोशीमा कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय

कहिरन समाचार

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा भएको सहमति अनुसार कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको हो ।

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि बहुमत जुटाएर असार २१ गते बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि आब्हान भइसकेको छ । प्रदेश सरकारको नेतृत्वमा कांग्रेस र माओवादी दावी गरेपछि बालुवाटारमा गठबन्धनको बैठक बसेर भागबण्डा टुंगो लगाएको हो ।

बहुमत जुटाउन एक सांसद अपुग हुने र त्यसका लागि एमालेसँगको गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी गराउने सत्ता गठबन्धनको रणनीति छ । राप्रपाले भने मुख्य मन्त्री पाउनु पर्ने सर्त राखेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले गठबन्धनबाट साझा रुपमा काँग्र्रेस संसदिय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको नेकपा एकिकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

पुस २४ गते मुख्यमन्त्री बन्नु भएका नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सभा बैठकमा गत १४ गते विश्वासको मत नपाएपछि सरकार ढलेको थियो । सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनका लागि असार २१ गतेसम्मको समय दिएका छन् ।

९३ सदस्य रहेका कोशी प्रदेशमा बहुमत पुर्याउन ४७ सीट आबश्यक देखिन्छ जसमध्ये एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद रहेका छन् । गठबन्धनको सबै संख्या जोड्दा ४६ नै सीट छ ।

यस्तै गठबन्धनको बैठकले संघीय सरकारमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि सरकारमा सामेल गराउने निर्णय गरेको छ ।