सबै दलबाट असल संसदीय अभ्यासको अपेक्षा छ : सभामुख घिमिरे

सबै दलबाट असल संसदीय अभ्यासको अपेक्षा छ : सभामुख घिमिरे

कहिरन समाचार

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् ।

‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने उल्लेख गरेका हुन् ।

उनले संसद् दिवसले सङ्घीय संसद्का सदस्यहरु, संविधानसभा सदस्यहरु, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

संसद् दिवसका अवसरमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा पटकरपटक गरिएका लोकतान्त्रिक आन्दोलनमा आफ्नो प्राणको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर सहिदहरुप्रति श्रद्धा अर्पण गर्दै उनले उहाँहरुको समर्पण, साहस र बलिदानको स्मरण गर्दै संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रुपमा अविच्छिन्न स्थापित गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

नेपालमा विसं २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै वर्षेनी संसद् दिवस बनाइँदै आएको छ ।

दिवसको दिनमा जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु हामी सबैको प्राथमिक दायित्व हुनुपर्ने सभामुख घिमिरेको जोड रहेको छ ।