संसदमा पहिलो पटक मत विभाजनबाट बजेट पारित

संसदमा पहिलो पटक मत विभाजनबाट बजेट पारित

कहिरन समाचार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधबार अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयक पहिलो पटक सांसदको मत विभाजन गरी पारित गरिएको हो ।

प्रमुख प्रतिपक्ष दल एमाले, रास्वपा र जनमत पार्टीले मत विभाजनको माग गरे पछि भएको मतविभाजनमा विनियोजन विधेयकको पक्षमा १४७ मत र विपक्षमा १०८ मत खस्यो । मतदानमा सहभागि २५५ जना सांसदमध्य बहुमत सांसदले पक्षमा मतदान गरेकाले बजेट बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

गत जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफल सकिएसँगै बजेट पारित भएको हो । यसअघि विशेष गरी सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राख्दै आएका थिए ।

तर अहिले नै बजेट संशोधन सम्भव नदेखिएको तथा प्रधानमन्त्री र अर्थमन्त्रीले आश्वासन दिएपछि त्यसलाई पारित गरेर जाने विषयमा सहमति जुटेको थियो । बजेट पारित गर्न सत्तारूढ दलहरूले ह्विप जारी गरेका थिए ।

प्रतिनिधिसभाले पारित गरेको यो विधेयक अब राष्ट्रिय सभामा पठाइने छ । पर्सि साढे २ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त विधेयक टेबुल भइ छलफल थालिने र २६ गतेसम्म जवाफ दिइसक्ने कार्यसूची सार्वजनिक गरिएको छ ।

राष्ट्रिय सभाले पनि पारित गरे पछि प्रतिनिधिसभामा फिर्ता पठाए पछि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लािग पठाइनेछ । बजेट स्वीकृत भएपछि आउँदो साउन १ गते देखि कार्यान्वयनमा आउने छ ।