चार दलीय समाजवादी मोर्चाको घोषणा, नेतृत्व आलोपालो हुने

चार दलीय समाजवादी मोर्चाको घोषणा, नेतृत्व आलोपालो हुने

कहिरन समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित चार दलिय समाजवादी मोर्चाको घोषणा भएको छ । राष्ट्रिय सभागृहमा सोमबार आयोजित एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ,जनता समाजवादी पाटी र बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चाको घोषणा भएको हो ।

घोषणा समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए । उनले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न पनि आह्वान गरे ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कुनैपनि पार्टीलाई तर्साउन र मुकाबिला गर्न नबनेको स्पष्ट पार्दै सकारात्मक शक्तिहरुलाई एकताबद्ध गर्न मोर्चाको घोषणा गरिएको बताए । मुलुकको प्रगति र समाजको आमुल परिबर्तनको पक्षमा नरहनेहरु भने तर्सिनुपर्ने उल्लेख गर्दै बाँकी सबै मज्जाले निदाएर बस्न उनको सुझाब छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताए । उनले यो मोर्चा देश र जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्न भउको भन्दै यसबाट कोही नडराउन आग्रह गरे ।

विगतमा धेरै मोर्चा बन्ने र भत्किने गरेको भन्दै यादवले यो मोर्चाप्रति पनि नागरिकमा आशंका रहेको बताए । तर यस्तो आशंकालाई व्यवहारबाट गलत सावित गर्ने उनले बताए ।

समारोहमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशले संकट व्यहोरिरहेको अवस्थाबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन नदिन समाजवादी मोर्चा गठन गरिएको बताए । उनले नेपालको स्वाधीनता जोगाउन नयाँ लडाइ अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड दिने जिकिर गरे ।

घोषणा समारोहमा चार दलका शीर्ष नेताहरुले ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने बताइएको छ ।

सम्झौता पत्र